सतुवा
सतुवा (सतावर) उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो। यसको पात बाँकोको जस्तै हुन्छ। यसको जरा अदुवाको जस्तै हुन्छ। सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी हो। जस्तै:- पेट दुखेमा सतुवा खाएमा छिटै ठिक हुन्छ, पाकेको घाउमा सतुवाको जराको धुलो अथवा जरालाई अलिकती पानीको साथमा ढुङ्गामा घोटेर लगाए घाउ छिटै पुरिन्छ, बान्ता भएमा अथवा पखाला लागेमा सतुवा खाएमा छिटै ठिक हुन्छ, यस्तै धेरै किसिमका साना ठूला बिमारीको लागि सतुवा निकै उपयोगी जडीबुटी हो।
यो विरुवा नेपालका महाभारत तथा हिमाली क्षेत्रमा १८०० मिटर देखि ३००० मिटर सम्मको उचाईमा पाइन्छ। खसु्र र ठिंग्रे सल्लाको जंगल भएको भागमा यो विरुवा धेरै भेटाईन्छ। यो विशेष गरेर सेपिला भागमा फस्टाउँछ। यो विरुवा सामान्यतया आधा मिटर अग्लो हुन्छ। सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन्। यस विरुवाका सबैजसो पातहरू एउटै आँख्लाबाट पलाएका हुन्छन्। प्रत्येक पात झन्डै भाला आकारको भई १५ सेन्टिमिटर लामो र ६ सेन्टिमिटर चौडा हुन्छन्। पातको टुप्पो चोसो परेको हुन्छ। विरुवाको टुप्पामा एउटै मात्र फूल फूलेको हुन्छ। फूलका तरेलीहरू हरियो र पहेंलो हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै अङ्ग पाइन्छन्।
यो विरुवाको जडिबुटीमा प्रयोग हुने भाग काण्ड हो। यो काण्ड जमीनमुनि रहने र अदुवा जस्तो हुन्छ। यसको रंग खैरो किसिमको हुन्छ। साधारण अदुवामा जस्तै धेरै हाँगा बिंगा हुदैन। यो काण्ड ६ देखि ९ सेन्टिमिटर सम्म लामो र २ देखि ४ सेन्टिमिटर सम्म चौडा हुन्छ। यो काण्डबाट लामा लामा जराहरू पनि निस्केका हुन्छन्।
बैज्ञानिक नाम (ल्याटिन नाम) : पेरिस पोलिफाईला (Paris polyphylla Sm.)
वनस्पति परिवार : लिलियसी (Liliaceae)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य लिङ्कहनरू
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.