लाखमरी
प्रकार | मिठाई |
---|---|
उत्पत्ति स्थान | नेपाल |
क्षेत्र वा राज्य | काठमाडौँ |
मुख्य सामग्रीहरू | पिठो, चिनी, घिउ |
लाखामरी (अङ्ग्रेजी: Lakhamari) एक किसिमको नेवारी रोटी हो।[१] यसमा चामलको पीठो र मासको पीठो मिसाइ, घ्युमा पकाएर पाकिसकेपछि चास्नीमा डुबाइ पकाउने गरिन्छ। यसमध्ये कुनै-कुनै रोटी आँटा मात्र राखेर पनि बनाउने गरिन्छ। सबै किसिमका लाखामरी यही तरिकाले बनाइन्छ। खालि आकार मात्र फरक-फरक हुने गर्छ। यो खाँदा मीठो, स्वादमा गुलियो र झुरुमझुरुम जाने गर्छ र धेरै दिनसम्म राख्दा पनि खास समस्या पर्दैन।
लाखामरी विभिन्न किसिमका छन्। यो पाउको हिसाबले बनाएको हुन्छ। जुन चार थरिको हुन्छ, झिँनिपः (१२ पाउ), झिपः (१० पाउ), च्यापः (८ पाउ), खुपः (६ पाउ)। यसबाहेक अर्को जिप्रसा, जोप्रस्था, मथ, अँय्था, नागबेली (नाग आकारको), भत्तु (सुगा), न्या (माछा), ब्याँ (भ्यागुतो), चिकंपा, गुलिमरी, अक्षतामरी आदि हुन्छ।
लाखमरीको प्रकारहरू
[सम्पादन गर्नुहोस्]विभिन्न अवसरमा प्रयोग गर्ने लाखमरी यसप्रकारका छन्:
विवाहको अवसरमा जोप्रस्था (ठूलो, सानो), जिप्रसा (ठूलो, सानो), मथ (ठूलो, सानो), चिकंपा (ठूलो, सानो), अँय्था (ठूलो, सानो), न्या, ब्याँ, भत्तु, नागबेली, गुलिमरी आदिको आवश्यकता पर्छ।
हुन त पुरानो जमानामा लाखामरीलाई विवाहको अवसरमा निमन्त्रणाका रूपमा पनि प्रयोग गरेको पाइन्छ। पहिले-पहिले निमन्त्रणा दिँदा चिकंपा लाखामरी एक चौथाइ (चकंछी) दिँदा एकजना, आधा दियो भने माचाछी (श्रीमान्-श्रीमती र उनीहरूको छोरा-छोरी मात्र), सिङ्गै दियो भने सपरिवार भनी बुझ्नुपथ्र्यो। रोटीको किसिम आधा सिङ्गैका आधारमै दाइजो पनि दिइन्थ्यो। त्यस्तै, भोज खाइसकेर र्फकने बेला हातमा एउटा एउटा अँय्था रोटी दिएर पठाउने गरिन्छ। तर, यस किसिमको परम्परा हिजोआज धमाधम लोप हुँदै गएको देखिन्छ।
माघमा स्वस्थानी कथा भन्ने बेला बाखंपा (नैवेद्य)का रूपमा गुलिमरी, अँय्था मरी वा अक्षतामरी राख्ने चलन छ। तर, स्वस्थानी परमेश्वरीको व्रत बस्दा अनिवार्य रूपमा अक्षतामरीको आवश्यकता पर्छ। स्वस्थानी व्रत हरेक वर्षको पौष शुक्ल पूणिमा देखि सुरु भएर माघ शुक्ल पूणिर्माको दिनमा एक सय आठ अक्षता रोटी राखेर देउता पूजा गरेर प्रसाद निकालेर आठवटा आफ्नो श्रीमानलाई दिएर सयवटा चाहिँ आफूले प्रसादका रूपमा खानुपर्छ। यो रोटी विशेषगरी यही अवसरमा मात्र बनाउने गरिन्छ।
तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीको पूजा गर्दा ८४ व्यञ्जन, सगुन (अन्डा, बारा, माछा, मासु, रक्सी) आदिका साथै रोटी, फलफूल तथा मसला आदि पनि चढाउने गरिन्छ। यस अवसरमा लाखमरी पनि चढाइन्छ र चार दिनमा वा भाइटीकाको भोलिपल्ट प्रसादका रूपमा सपरिवारसाथै छोरीबेटीलाई समेत बोलाई खुवाउने प्रचलन छ।
भाइटीकामा दिदीबहिनीले भाइपूजाका लागि पूजासामग्री साथै विभिन्न खाद्यसामग्री (कु) लिएर माइती जाने गर्छन्। त्यस्तै वैशाख कृष्ण औँशीको दिन आमाको मुख हेर्ने बेला र भाद्र कृष्ण औँशीको दिन बुवाको मुख हेर्न जाँदा छोरीहरूले कु (भारी) लैजाने गर्छन्। यही बेला अरू खाद्यवस्तुका साथै रोटी पनि राखेर लगिन्छ। थरिथरिका जिन्सी रोटी वा मिठाइका साथै लाखामरी पनि लिएर जाने गरिन्छ। यस अवसरमा भने लाखामरी नै लैजानुपर्ने अनिवार्य भने छैन। तर, लाखामरी किस्तीमा सजाउँदा राम्रो एवम् गहकिलो देखिने र धेरै दिन टिकाउ वा हतपती नबिग्रने भएकाले लाखामरीलाई महत्त्व दिएको पाइन्छ। यस किसिमको पर्वमा जिप्रसा, जोप्रस्था, मथ, अँय्था, गुलिमरी आदिमध्ये कुनै पनि रोटी राखेर लैजाने चलन छ। न्या, ब्याँ, भत्तु, नागबेली, गुलिमरी, चिकंपा, अक्षतामरीजस्ता रोटीहरू विशेष दिनमा बाहेक अरू पर्वमा बनाइँदैन।
नेवार समुदायको विशेष मिठाई भएता पनि यो सम्पूर्ण नेपालीहरू माझ लोकप्रिय छ|
सामग्री
[सम्पादन गर्नुहोस्]ताइचिन चामलको पीठो १ किलो, घिउ २ पाउ, मास आधा किलो, चास्नी
विधि
[सम्पादन गर्नुहोस्]ताइचिनको चामल एक दिनभरि भिजाएर रातभरि ओभाउन दिने र भोलिपल्ट पिस्ने। मास पनि भिजाएर भोलिपल्ट बिहान बोक्रा निकालेर पिस्ने। पिसेको मासमा अलिअलि पानी हालेर फिट्ने। घिउ, चामलको पीठो तथा मास मिसाएर मज्जाले फिट्ने। नरम भएपछि स-साना प्वाल भएको कपडामा बाँध्ने। त्यसपछि ताईमा हालेर पकाउने र सेप बनेपछि कराहीमा हालेर खैरो हुने गरी पाक्न दिने। सेलाएपछि चिनीको बाक्लो उम्लिएको झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने। यसरी तयार भएको लाखमरी महिनौं दिनसम्म खान सकिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.