खरेल
संस्कृतको शुद्ध उच्चारणमा “ष” लाई शिरबाट उच्चारण गर्नुपर्ने भएका कारण यसलाई मूर्द्धन्य “ष” पनि भनिन्छ ।“ष” अक्षरलाई शिरबाट उच्चारण गर्दा “ख” जस्तो सुनिने हुँदा षर्याल शब्दबाट क्रमशः खर्याल तथा खरेल भएको पाइन्छ । तसर्थ अहिले “खरेल” भनी उच्चारण गरिने थरको प्राचीन शुद्ध उच्चारण “षर्याल” हो । खरेलको गोत्र “वशिष्ठ” हो भने खरेलका सगोत्री अन्य थरहरूमा भट्टराई, पाण्डे, चालिसे, मुडवरी, दवाडी, थान्सिङे भण्डारी, सुयल राउत, सुयल थापा र सुयल घर्ती भएको पाइएको छ । मत्स्य पुराणमा उल्लेख भएअनुसार ऋषि मित्रा वरुण तथा उर्वशीको सन्तानको रूपमा वशिष्ठको जन्म देवघाट (हालको तनहुँ जिल्ला स्थित कालिगण्डकी र त्रिशूलीको सङ्गम)मा भएको हो । यस अनुसार खरेलहरू ब्रह्मर्षि वशिष्ठका सन्तानहरू हुन् र नेपालका आदिवासी पनि हुन् । कुमाऊँका राजकीय स्नातकोत्तर महाविद्यालय पिथौरागढका इतिहासकार डा. मदनचन्द्र भट्टका अनुसार वशिष्ठ गोत्रीहरु इस्वीको चौधौँ र पन्ध्रौँ शताब्दीमा कुमाऊँका कतुरी राजा धामदेव र ब्रह्मादेवको समयमा नेपालतिर बस्न गएका हुन् । कुमाऊँबाट आएका कारण खरेलहरुलाई कुमाईं पनि भन्ने चलन छ ।
नेपालमा खरेलहरूको मुख्य वासस्थानमा काभ्रेपलान्चोक रहेको देखिन्छ । यस जिल्लामा खरेलहरू बस्ने दुई मुख्य गाउँहरू फलाँटे र खरेलथोक हुन् । अठारौँ शताब्दीको मध्यतिर भागिरथ उपाध्याय (षर्याल) कुमाऊँबाट नेपाल बसाइ सरेको देखिन्छ । जो खोजकर्ताको ११ पुस्ता पूर्वका पुर्खा हुनुहुन्छ । भागिरथ उपाध्याय (षर्याल) लाई तत्कालीन श्री ५ नरभुपाल शाहले वि.सं. १७९६ मा ताम्रपत्र दिएको देखिएबाट उहाँ त्यस समयमा गोरखा दरबारमा कुनै सरकारी सेवामा रहनुभएको अनुमान हुन्छ । भागिरथ उपाध्याय (षर्याल)का छोराहरू कृष्णानन्द, हरिनन्द, रामानन्द तथा महेश्वरान्दलाई नाबालक अवस्थामा नै माता पिताको मृत्यु भएका कारण मावलीले फलाँटेमा ल्याई पालनपोषण गरेको पाइन्छ । त्यसै गरी खरेलथोक बस्ने खरेलहरूको नेपालका पुर्खा रवि उपाध्याय (षर्याल) हुन् ।
त्यसै गरी झापामा पनि अन्दाजी ३५० घर जति खरेलहरू रहेको पाइएको छ । झापाका खरेलहरू काभ्रेपलान्चोकबाट नै बसाइसराइ गएको बुझिएको छ । गुल्मी र स्याङ्जा जिल्लामा पनि खरेलहरूको ठुलै बसोबास पाइएता पनि ती खरेल (खराल)हरूको गोत्र “वत्स” रहेको पाइयो । काभ्रेपलान्चोक र झापा जिल्लामा बस्ने वशिष्ठ गोत्री खरेलहरू र गुल्मी र स्याङ्जा जिल्लामा बस्ने वत्स गोत्री खरालहरुको पुर्खा फरक रहेको पाइन्छ ।
खरेल थरका केही चर्चित व्यक्तिहरू:
१. अच्युतकृष्ण खरेलः नेपाल प्रहरीका पूर्व महानिरीक्षक
२. रमेस प्रसाद खरेलः नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (हाल सुशासन पार्टीका प्रमुख)
३. माधव राज खरेलः नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक
४. प्रमोद खरेलः नेपाल प्रसिद्ध गायक
५. महेश खरेलः पाँचखाल नगरपालिकाका मेयर
६. अग्नि खरेलः राजनेता
७. माधव राज खरेल : चलचित्र निर्देशक
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.